2024 Hindi kavita डिसेंबर प्रादेशिक बोली

संजीब गुरुङ की नेपाली कवितायें

सा हि त्या क्ष र 

: परिचय :

मेरो उमेर सोध्नुभएको?

यी चियाबारीहरू

यी कुनेनबारीहरू

यी गाउँ र बस्तीहरू

यो देश भन्दा जेठो हुन्।

अनि म

यी चियाबारीहरू भन्दा

यी कुइनेनबारीहरू भन्दा

यी गाउँ र बस्तीहरू भन्दा

जेठो हूँ।

***

म त

मलाई अझै सन्देहको नजरले हेर्ने

मेरा छिमेकीहरूका

मैला आँखाहरू पखाल्दै थिएँ

पाठशाला र कलेजहरूमा मलाई

गान्धी र सुबासका इतिहास पढ़ाउने

मेरा शिक्षक शिक्षिकाहरूलाई

जंगवीर सापकोटा ,इन्द्णी र सावित्रीहरूका

इतिहास पढ़ाउॅदै थिएँ

अरूलाई मीठो पकवान पस्किने डाडु पन्यूॅले

भान्सेले मेरो निधार भरिभरि उठाइदिएको

टुटुलकाहरू मुसार्दै थिएँ

टुक्रा टुक्रा पारेर च्यातिदिएको

मेरो घडेरीको खतियनको टुक्राहरू

बटुल्ने र जोड़ने

झर्कोलाग्दो काममा व्यस्त थिएँ

स्वतन्त्रता दिवस आएको गएको

थाहानै भएन मलाई

बिलेटेड शुभकामना सबैलाई ।

(रचना : 15.8.2015 )

***

पश्चिम बङ्गालको उत्तरतिर फर्किनुहोस्

अनि आकाशतिर हेर्नुहोस्

जहाँ गिजिङगिजिङ चिल र गिद्धहरू

उडीरहेका र झम्टिरहेका देख्नुहुनेछ

होsss ठीक त्यसकै मुनि पर्छ डुवर्स।

सानासाना नानीहरू हेर्ने काममा खटिरहेका

सानासाना नानीनैहरूका

सानासाना मायालाग्दा पाइलाका डामहरू

पहिल्याउँदै पहिल्याउँदै जानुहोस् त

ठ्याक्कै पुगीहाल्नु हुनेछ डुवर्स।

दिनभरि ब्युटी पार्लरमा

अनुहारहरू सिहार्दा सिङ्गार्दा

कुपोषणले कुच्चिएका

आफ्नै आमा-बाबा अनि भाइ- बहिनीका अनुहारहरू

झलझली सम्झने ती युवतीहरू घर फर्कन्दा

तिनीहरूलाई पछ्याउँदै पछ्याउँदै जानुहोस् त

ठ्याक्कै पुगीहाल्नु हुनेछ डुवर्स।

राति खेतमा जङ्गली हात्तीहरू पसेदेखि

मिर्मिरे बिहानसम्म

सोमरा,सोमबहादुर,मङरा र मनबहादुरहरू

एक भएर हात्ती खेदाइरहेको बेला

न्यानो ओछ्यानमा मस्त निदाउने नेताहरू

जहाँ विभाजनको राजनिति गर्छन्

हो ssss ठीक त्यहीँ पर्छ डुवर्स।

भोकाएको आफ्नो नानीलाई स्तनपान गराउन

मेलोबाट क्रेस घर पुगेकी गोर्खाली आमा

स्तनपान गराइराख्छिन् भोकले रोइरहेको आदिवासी नानीलाई पनि

त्यसै गर्छिन् आदिवासी आमा पनि

दुधको सम्बन्ध गाँसिएको छ जहाँ

हो ठिक त्यहीँ पर्छ डुवर्स।

नलगाएको कहाँ हो र तैँले आगो

नसल्काएको कहाँ हो र तैँले डढेलो

लगा आगो लगाउँछस् जति

सल्का डढेलो सल्काउँछस् जति

कान खोलेर सनीराख् ए सैँदुवा

खरानीबाट पनि फिनिक्सजस्तै बौरिएर

युद्ध लडने बीर योद्धाहरूको बास छ जहाँ

हो ठिक त्यहीँ पर्छ डुवर्स।

***

कुन धनबहादुर हो?

कुन हो मनबहादुर ?

छुट्याउन त सकिन्दै सकिन्दैन

हुन पनि यी जम्ले मोराहरू

काटीकुटी एकै छन्

भाषा

लुगाफाटा

खानपान

सबैसबै एकै

छुट्टयाउन खोज्नेहरूको निम्ति

यी जम्ले मोराहरू

एउटा समस्या बनेर रहीदिन सक्छन्

तर विडम्बना !

छुट्टयाउन खोज्नेहरूको निम्ति

समाधान भइदिँदै

आफ्नै निम्ति चै समस्या बन्दै

यी जम्ले मोराहरू छुटिन्छन्

अनि मनबहादुर भन्छन्

म धनबहादुर होइन

म मनबहादुर हूँ

अनि धनबहादुर पनि भन्छन्

म धनबहादुर हूँ

म मनबहादुर होइन।

***

देशको सिमानामा

विदेशतिरबाट आएको गोलीले

शहिद हुॅदा

धनमती र मनबहादुरका छोराहरूलाई

तिरङ्गा ओड़ाएर पठाउनेहरू हो

नलानु फर्काएर त्यसलाई ।

ओड़न पाओस् न

धनमती र मनबहादुरहरूले पनि

देशको न्यानो माया

तिनीहरूलाई नै ताकेर

जबजब चल्छ देशभित्रबाटै

देशलाई मायागर्ने तिनीहरूको मुटु कमाउने

विदेशीको लाञ्छनाको सिरेटो ।

***

स्वार्थको मैला झोलामा

हाले सपना

अऩि शहिदहरूका

आलोआलै चिहानहरू टेक्दैटेक्दै गए

दलालहरू  |

खोले टोपी शिरको

गुटमुटाए त्यसमा स्वाभिमान

अनि आमाको छाती

र बाबुको शिर कुल्चन्दैकुल्चन्दै गए

दलालहरू |

अदूरदर्शीताको चुहुने झोलामा

हाले वर्तमानलाई

अनि भावी सन्तानका निधारहरू टेक्दैटेक्दै गए

दलालहरू |

***

यो देशमा

सबैलाई भन्दा कम्ती बाडुली

मलाई लाग्छ ।

हुन पनि हत्तपत्त

देशले मलाई सम्झिन्दैन ।

रगतको खाँचो पर्दा मात्र

देशलाई मेरो याद आउँछ ।

बाडुली लाग्दै पछि

रगतबगाउने मेरै तर

यही देशमा

वास खोसिएको छ

इतिहास छोपिएको छ।

मसँगको रगतको साइनो

केलाउँला कुनै दिन देशले

मलाई माया गरेर

सम्झेला कुनै दिन देशले ।

***

त्यो बन्दुक बीरबहादुरको थिएन

न ती युद्धहरू

न त ती दुश्मनहरू नै  उसका थिए

अरूकै   युद्धमा

अरूकै   बन्दुकले

अरू कै  आदेशमा

अरूकै  दुश्मनहरूलाई

जब प्रथम चोटि उसले गोली ठोक्यो

कुटिल ती अरूहरूले

प्रशंसाको मार्तोले

कुटिलताका काॅटीहरू ठोके

बीरबहादुरको

निधारमा

हत्केलाहरूमा

पैतालाहरूमा

त्यसपछि ऊ अचल बन्यो

अचल ऊ

कतै जान सकेन

कहीँ पुग्न सकेन

तर अचल उसलाई

जताततै  पुराइयो

उसको गाउॅदेखि सुदूर बिरानो ठाउॅमा

उ बेनाम पुरिएको चिहानमा पनि

उसलाई पुराइएको थियो

वास्तवमा सोझो र सुधो बीरबहादुरको

कुनै दुश्मन नै थिएन

कुनै दुश्मन नै नभएको उसलाई

बन्दुकको आवश्यकता नै थिएन

आवश्यकता नै नहुॅदा

उसले बन्दुक आविष्कार गरेको इतिहासै छैन

अरूले नै लेखेको इतिहासमा तर

उसले बन्दुक पडकाएको इतिहास छ

कुटिलताको कलमले लेखेको

कतै उसको नाम छ

कतै ऊ बदनाम छ ।

***

अपत्यारिलो न अपत्यारिलो

मंहगो न मंहगो दाममा

किन्न भएको छ हजुरले

त्यो दार्जिलिङ टी

पत्यारै नलाग्ने कम्ती न कम्ती

चियाबारी श्रमिकहरुको दैनिक हाजिरा

खै, के सुनाउँ म हजुरलाई ?

यहाँ चियाबारी बसाल्न

हिंस्रक जीवजन्तुहरू धपाउँदै

पटेर जङ्गलहरू फाँड्नथालेदेखि आजसम्म

अभाव र अपुगकका बाघ भालुहरूसँग

निरन्तर निरन्तर लड्न परेको कथा

खै, के सुनाउँ म हजुरलाई ?

विश्व-प्रसिद्ध त्यो स्वाद कै निम्ति न हो

किन्न भएको छ हजुरले

त्यो दार्जिलिङ टी

चियाबारी श्रमिकहरुको नुनिलो आँशु

खै,के घोलूँ म त्यसमा ?

देखेकै हुनपर्छ हजुरले पक्कै पनि

कतै न कतै

दक्ष फोटोग्राफरहरूले खिचेका

चियाबारीका सुन्दर तस्वीरहरु

मैले मेरै आँखाले खिचेका

चियाबारीका विभत्स तस्वीरहरु

खै, के देखाउँ म हजुरलाई ?

मूड चंगा बनाउनलाई नै न हो

किन्न भएको छ हजुरले

त्यो दार्जिलिङ टी

मूडैबिगार्ने चियाबारीका व्याथाहरू

अझै कति सुनाउँ म हजुरलाई ?

आsss छोड्नुहोस् यी सब कुराहरू

इनजोइ दि दार्जिलिङ टी ।

***

तिमीले हामीलाई गाजर देखायौ

तर त्यो  गाजर भन्दा

कता हो कता स्वादिष्ट छ

हाम्रो सपनाको स्वाद

यसैले त

तिमीले हामीलाई देखाएको गाजरलाई

हामीले हाम्रो घोप्टो बुढी औंला देखाइदिएका छौं/देखाइरहने छौं

गाजर पछि तिमीले हामीलाई

तिम्रो लौरो देखायौ

हाम्रो  सपनालाई कुट्दा

तिम्रो लौरो भांचिएको इतिहास छ

तर हाम्रो  सपना  भांचिएको इतिहास छैन

हुंदैन पनि

कारण तिम्रो  लौरो भन्दा

कता हो कता बलियो  छ हाम्रो सपना ।

तिमीले बन्दुक पनि पडकायौ

तर त्यो बन्दुक पडकिॅन्दाको आवाज

हाम्रो आवाजको भीडभित्र

खै कता हरायो कता ?

यसैले त चारैतिर सुनिन्दैछ हाम्रो  आवाज

केवल हाम्रो आवाज

सुन्दैछौ के ?

सम्पर्क  चुडाइदिएको छौ तिमीले अहिले

सम्पर्क चुडाउनसक्ने तिमीले

चुडाउन सक्छौ के सम्बन्ध हाम्रो

सम्बन्ध रगतको

सम्बन्ध जातिको

सम्बन्ध संस्कृतिको

सम्बन्ध माटोको

सम्बन्ध भाषाको

सम्बन्ध सपनाको ?

***

विश्व एउटा कक्षा

हरेक मान्छे विद्यार्थी

कोरोना भाइरस शिक्षक बनेको छ अहिले

र घोकाउँदैछ मान्छेलाई जीवन

घोकाउँदैछ घोकाउनैपर्ने एउटा पाठ

प्राथमिकताको फेहरिस्तमा त्यो

तलतिर खस्किएको थियो जीवन

जीवन भन्दा मास्तिर थिए

फेहरिस्तमा त्यो

घर

गाडी

लुगाफाटा

रूपियाँ पैसा

माछा मासु

केके

फेरबदल गर्न लगायौ तिमीले ,कोरोना

फेहरिस्त त्यो

र राखेका छन्  अहिले जीवनलाई

टुप्पोमै फेहरिस्तको यो

फेरिन्छ समय

फेरिन्छ स्थिति

फेरिफेरि नफेरियोस् फेहरिस्त यो

फेरिफेरि नफेरियोस् फेहरिस्त यो।

***

कुनै कुइनेटो, घुम्ती,गल्ली वा गल्छेंडीमा

जम्काभेट भइहाले सहिदहरूसँग

पोखिहाले सहिदहरूले

उनीहरूका गुनासो र उकुसमुकुसहरू

ट्वाल्ल पर्न

कति गाह्रो हुन्थ्यो होला नि?

पुगेकै क्षण

चोकको त्यो सहिदको मूर्तिअघि

अचानक मूर्तिबाट फुत्त निस्किएर सहिदले

सोधीहाले सम्भावित ती जम्मैजम्मै प्रश्नहरू

निरूत्तर वाल्ल पर्नु

कति साह्रो हुन्थ्यो होला नि?

तथाकथित ऐतिहासिक महाजनसभाहरूमा

बेटुङ्गो खुसीहरूमा

छिल्लिएर नाचिरहेकै बेला

टुप्लुक्क त्यहीँ आइपुगे उदास सहिदहरु

टक्क अडिएर हल न चल हुनु

कस्तो हुन्थ्यो होला नि?

अन्तिम चोटि आँखा चिम्लँदासम्म

सहिदहरूले देखेका सपना पैतालामुनि कुल्चेर

भाषण छाँटिरहेकै बेला

मञ्चमा नै आइपुगे

रक्ताम्मे सहिदहरु

अपराधीझैँ शिर निहुराएर

आँखा जुझाउन नसक्नु

***

तपाईँले दिमाग लगाउनु भयो

हिसाबकिताब गर्नु भयो

नाफा नोक्सान अडक्लनु भयो

अनि त्यस पछि

खुत्रुक्क चियाबारीमा पस्नु भयो

अनि चियापत्ति टिपी टोप्लनु भयो

खुब भाइरल हुनुभयो।

चियाबारीमा पत्ती टिप्नेहरूको

भोट टिप्ने बेलाको कुरा हो यो।

युगौँ अघि

चियाबारीमा पसिपठाएर

त्यहीँ फस्सिएकाहरूमाझ

तपाईँले केही मिनेट बिताउनु भयो

अनि त्यस पछि

त्यहाँबाट फुत्त निस्किएर जानुभयो।

धेरै धेरै धेरै टाडा जानु भयो

जहाँबाट आउनुभएको थियो

जहाँ तपाईँ बस्नुहुन्छ

जहाँसम्म दसैँको मुखैमा

बोनसको निम्ति चिच्याइएका नाराहरू पुग्छन्/पुग्दैनन् (?)

त्यस दिन

त्यो चियाबारीमा खिँच्नुभएका

भाइरल ती फोटोहरु

भाइरल ती भिडियोहरु

मिमोरीमा छन् कि छैनन्,महोदया?

***

विपत्तिका काला अनि बाक्ला बादलहरूद्वारा

घाम नछेकिएको कहाँ हो र?

तर…

आफ्नै मेरुदण्ड बालेर

आगो तापेको चिसो इतिहास छैन मेरो।

दाम नतोकिएको पनि होइन

अमूल्य मेरो मेरुदण्डको

म बजारमा होइन

युद्धको मैदानमा छु।

म एक योद्धा हूँ

व्यापारी होइन।

***

उहिले नै

डा इन्द्रबहादुर राईले

एउटा दूरबीन आविष्कार गरे।

अनि चढे निक्कै अग्लो डाँडामा

र हेरे उनले त्यहाँबाट

हामीलाई

अनि देखे

रमिता।

त्यसपछि उनी चिच्याए

” आज रमिता छ”।

उनले जीवनभरी नचिम्लेका

उनका चिम्सा आँखाहरूले

जीवनभर हेर्नपर्यो

रमिता रमिता रमिता रमिता

ती आँखाहरू

फेरि कहिले नउघ्रिने गरी बन्द हुँदा पनि

ती आँखाहरूअघि थिए

रमिता  रमिता रमिता रमिता

दियौँ हामीले उनलाई

सम्मान

सम्बर्द्धना

पुरस्कार

खै कहाँ दिन सक्यौँ र हामीले उनलाई

रमिता नभएको एउटै पनि  दिन ?

हामीजस्तो अट्टेरी त को होला?

हेर्न नचाहेको रमिता

जीवनभर हेर्नुपर्दाको पीडा

जोख्न कहाँ सकिन्छ र?

अब उनी छैनन्

तर छ यहाँ

अझै धेरै

रमिता

रमिता

रमिता

रमिता

नयाँ नयाँ

रमिता

रमिता

रमिता

रमिता।

***

(श्री मनोज बोगटी अनि श्री उमेश परियारलाई सम्झन्दै…..)

मेरा केही सिद्धान्तहरू छन्

यसैले

मेरा केही दुश्मनहरू छन्

नभएका भए मेरा यी सिद्धान्तहरू

हुने थिएनन् मेरा ती दुश्मनहरू पनि

मेरा दुश्मनहरू नै

मेरा सिद्धान्तहरूका अकाट्य प्रमाणहरू हुन्।

***

त्यसले

मलाई

त्यसले ओगटेको चौकी देखायो

त्यो चौकीको धाक पनि देखायो

त्यसले

मलाई

त्यसको राजनीतिक खेतमा खट्ने खेतालाहरूको

बाक्लो हुल पनि देखायो

त्यसले

मलाई

त्यसको कालो र मैला सम्पत्ति पनि देखायो

तर

मैले त्यसको मेरुदण्ड हेर्न चाहेँ

त्यो त त्योसँग छैन रहेछ।

***

दिनहुँ परीक्षा लिइरहन्थे समस्याहरू

गरीब मेरी आमाकी

अनुत्तीर्ण भइनन् कहिले तर

अनपढ मेरी आमा

दस ठाउँ हुन्थ्यो त्यो चुहुने छाना

भिज्न दिएनन् कहिले तर

उनले उनको मानसम्मान

टालटुल पारी लगाउँथिन् लुगाफाटा

च्यातिन दिएनन् कहिले तर

उनले उनको स्वाभिमान

गुणा गरी पढाउँथिन् आफ्नो साहस

भाग गर्थिन् दु:खहरू एक्ली भाकल भई

जोडथिनन् अनावश्यक रहरहरू

घटाउँथिन् बरू आफ्ना आवश्यकताहरू

यसरी मिलाउँथिन् मेरी आमा

अत्यासलाग्दो उनका हिसाबहरू

रङ्ग-पचेरा गर्न सकिनन् कहिले

सानो त्यो झोपडीलाई उनले

बदनामीको दाग पनि त्यसमा

लाग्न दिएनन् तर कहिले उनले

त्यो झोपडीलाई एउटा पाठशाला बनाइ

सिद्धान्तको ठुलो श्यामपटमा

चेतनाको सेतो चकलेट कोर्दै

नैतिकताका नभुलिने पाठहरू पढाउँदो

मेरी आदर्श शिक्षका बनिन्

अनपढ मेरी आमा

गरीब मेरी आमा।

***

साहित्याक्षरचे नवीन पुस्तक … संपर्क : 9767516929

Recommended Posts

2024 Hindi kavita ऑगस्ट

उत्तम कोलगावकर : चंद कवितायें

परिचय : उत्तम कोलगावकर मराठी के एक सशक्त कवि है । उनकी कविता प्राय : भाष्यकविता की रूप में सामने आती है । आकाशवाणी में एक अफसर के रूप मे सेवापूर्ति कर वे आजकल नासिक में निवृत्त जीवन जी रहे है । ‘ जंगलझडी ‘ ,”तळपाणी ‘ , ‘ कालांतर ‘ आदि कविता संग्रह उनके […]

सा हि त्या क्ष र 
2024 जुलै प्रेरणा

‘भवरा ‘च्या निर्मितीची कथा : विजय जाधव,अंबड

बहुचर्चित ‘पांढरकवड्या ‘ कादंबरीचे लेखक विजय जाधव यांच्या ‘भवरा’ या कथासंग्रहाच्या निर्मितीमागील प्रेरणा चार वर्षांपूर्वी कोरोनाच्या महामारीने जग हादरून गेले होते. मानव जातीच्या अस्तित्वावरच प्रश्नचिन्ह निर्माण झाले होते. या एकाकी काळात मी बरीच पुस्तके वाचली, पण यामध्ये प्रसिद्ध लेखक बाबुराव बागुल यांचे ‘सूड’ हे पुस्तक वाचण्यात आले आणि मला हे पुस्तक खूप आवडले. काही लेखकांची […]

सा हि त्या क्ष र 
2025 Hindi kavita कविता जून लेख/ आलेख हिंदी

जड़ों में खोजता पानी और जीवन का स्पंदन~सुरेन्द्र प्रजापति, बोधगया

मैं इन दिनों एक कोमल, हरित तल, नरम, नाजुक मुलायम पर्ण का सहयात्री हूँ । चौंकिए मत; दरअसल बात कर रहा हूँ, मराठी भाषा के चर्चित कवि, लेखक, संजय बोरुडे की; जो हिंदी भाषा के अच्छे जानकार हैं ।

प्रत्यक्षतः उनका हिंदी में पहला कविता संग्रह ‘पर्णसूक्त’ न्यू वर्ल्ड पब्लिकेशन से प्रकाशित होकर आया है । संग्रह की कविताओं से गुजरते हुए मुझे महसूस हुआ कि एक मराठी भाषी संजय बोरुडे साधिकार हिंदी में भी विलक्षण साहित्य रच सकते हैं ।

सा हि त्या क्ष र 
2025 कविता मराठी मार्च

राजाराम बनासकर यांच्या कविता

संक्षिप्त परिचय_________________________प्रा.राजाराम बनसकर.महात्मा जोतिबा फुले कनिष्ठ महाविद्यालय कळमनुरी.जि.हिंगोली.निवृत्त:२०१२,_विविध स्तरावरील ‘ मराठी साहित्य संमेलनांत सहभाग…_आकाशवाणी, औरंगाबाद परभणी केंद्रावरील कार्यक्रमात सहभाग.._प्रथित यश.. दिवाळी अंक,मासिक, नियतकालिक, दैनिकातून कविता प्रसिद्ध…__’रडका कांदा ‘बालकविता’संग्रह, प्रसिद्ध….पत्ता:प्रा.राजाराम बनसकर.‘घरोटा’ जैन गल्ली.कळमनुरी.जि.हिंगोली.४३१७०२,(९४२१३९१२३०) ************************************************************** राजाराम बनासकर यांच्या काही कविता   १) ‘ ऑल वेल ‘ आता … कांहीच चुकत नाही कुणाचेसगळेच ..कसे..’ऑल वेल’..!जायज…ना जायज…ठरवायचं कुणी…?विनाकारण,काढायची..उणी ..दुणी..? […]

सा हि त्या क्ष र 

Leave A Comment